जनयुद्धका क्रममा बेपत्ता पूर्ण पौडेलको नाममा प्रतिष्ठान

तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बेपत्ता हुनुभएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा पोखरामा प्रतिष्ठान स्थापना गरिएको छ ।

विसं २०५९ मा बैशाख १३ गतेका दिन राजधानी काठमाडौँबाट सुरक्षाकर्मीले पक्राउ गरेयता पाैडेलकाे अबस्था अज्ञात छ । उहाँ बेपत्ता भएको दिन पारेर पाेखरामा गरिएकाे एक कार्यक्रममा स्मरण तथा प्रतिष्ठान घोषणा गरिएको हो ।

अग्रज पत्रकार कोमलनाथ बरालले घोषणा गर्नुभएको प्रतिष्ठानमा वेपत्ता पौडेलकी आमा मोतीमाया पौडेल संरक्षक हुनुहुन्छ भने प्रतिष्ठानको अध्यक्षमा वेपत्ता पौडेलका दाजु केदार पौडेल रहनुभएको छ । उपाध्यक्षमा कमल पौडेल, सचिवमा पौडेलकी जीवन संगिनी सावित्रा दुरा र कोषाध्यक्षमा तेजकुमारी पौडेल हुनुहुन्छ ।

प्रतिष्ठानको सदस्यहरुमा वखानसिंह गुरुङ, महेन्द्रमणी पौडेल, पूर्णजित पुन, शिव खनाल, डा.रवी थापा, रश्मी थापा, रवीप्रकाश गुरुङ, कल्पना चिलुवाल र शुक्र चुमान रहनुभएको छ ।

प्रतिष्ठानले सहिद, वेपत्ता तथा घाईतेहरुको हक, हित र अधिकारका बारेमा बहस पैरवी गर्नुका साथै सामाजिक कार्यहरु गर्ने प्रतिष्ठानका अध्यक्ष पौडेलले बताउनुभयो ।

बेपत्ता पौडेलको जन्म विसं २०३१ साल कार्तिक ११ गते बुबा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट भएको हो । उहाँ २०५२ सालमा अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनु भएको थियो । २०५७ सालमा केन्द्रिय महासचिव र २०५८ सालको १५ औं राष्ट्रिय सम्मेलनबाट पनि महासचिवमै निर्वाचित हुनुभयो ।

Facebook Comments