पाेखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु
पोखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । पाेखराको लेकसाइड क्षेत्रमा हरेक अंग्रेजी नयाँ वर्षकाे अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले सडक महाेत्सव गर्दै आएकाे छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महाेत्सवकाे उद्घाटन गर्नुभएको हो । महोत्सव उद्धघाटन गर्दै प्रमुख आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताउनुभयो ।
“लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताउनुभयो ।
पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उहाँले उल्लेख गर्नुभयो ।
“जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भन्नुभयो, पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।”
व्यवसायीहरू बिचको इगो प्रतिशाेधका कारण प्याराग्लाइडिङ व्यवसायलाई असर पार्न नहुने बताउनुभयाे । प्रमुख आचार्यले मञ्चबाटै व्यवसायीहरूलाई सडक महोत्सवलाई कमाउने मौकाको रूपमा नलिन अपिल समेत गर्नुभयो ।
सडक महाेत्सवकाे रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ ।
महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

