माैसमः तराईमा हुस्सु कुहिराे

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएपनि चिसाे बढेकाे छ । दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

तराईमा बिहानैदेखि हुस्सु र कुहिराे लागेकाे छ भने चिसाे पनि बढेकाे छ ।

शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई भू-भागका केही स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ।

राति देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिपनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Facebook Comments