संसद बैठकः राष्ट्रसंघका महासचिव गुटेरेसकाे सम्बाेधन
चार दिने औपचारिक नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदका दुवै सदनकाे संयुक्त बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ ।
संघीय संसद सचिवालयका अनुसार महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।
सभामुख देवराज घिमिरेले संसद बैठकका लागि सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न निर्देशन दिनुभएकाे छ ।
आइतबार बिहान नेपाल आइपुग्नुभएका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर र लुम्बिनीको अवलोकन भ्रमण सकेर संसदलाई सम्बोधन गर्न काठमाडाैं आइपुग्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधबार फर्किनुहुनेछ ।
गुटरेसकाे नेपाल भ्रमणका क्रममा नेपालकाे शान्ति प्रक्रियाका बाँकी काम र जलबायू परिवर्तन सम्बन्धि एजेण्डामा उच्चस्तरीय छलफल भएका थिए ।

