समाजवादको आधार तयार गर्न गठबन्धन फेरेँः प्रधानमन्त्री
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता गठबन्धन बदल्नुपरेको बताउनुभएकाे छ ।
समाजवादी मोर्चाले काठमाडाैंमा गरेकाे कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गर्नुभएकाे हाे ।
प्रचण्डले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गर्नुभएकाे थियाे । उक्त गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन् ।
प्रधानमन्त्रीले भन्नुभयाे, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुन गतिका साथ जानुपथ्र्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ ।’
विभिन्न चुनौतीका बीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रचण्डले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको उल्लेख गर्नुभयाे ।
समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उहाँको जिकिर थियो ।

