माओवादी संसदीय दल बैठकमा बजेटबारे छलफल, ‘बिगतबाट पाठ सिकौं’
सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको १०औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट केन्द्रित छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे ।
बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयाे, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको अनुभवसमेत लिएर आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई टेकेर कसरी बजेट निर्माण गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’
बजेटमा विशेषगरि उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा प्रधानमन्त्री दाहालले जोड दिएको उहाँको भनाइ छ ।

