राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रकाे दाबी

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी गर्ने भएकाे छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा पहिलो दल भएको आधारमा अध्यक्षमा दाबी रहने बताउनुभएकाे हाे ।

फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दैछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि फागुन २० मै सकिन लागेको छ । फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ ।

बैठकमा सांसदहरूले माओवादी केन्द्रलाई गठबन्धनको मुख्य घटक कांग्रेसले पटक-पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा सरकारले आवश्यक विधेयक ल्याउने र तिनलाई पास गर्नका लागि भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभएकाे थियाे ।

Facebook Comments