त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा पुन: दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रथम पटक निकालिएकाे सूचना विवादित भएपछि दाेस्राेपटक पुन: दरखास्त आह्वान भएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले साेमबार पुनः सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
प्रकाशित सूचनामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘ इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।’

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
समितिले गत शुक्रबार सूचना प्रकाशित गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानमा उल्लेख भएको उपकुलपतिका लागि आवश्यक प्रावधानबारे विवाद भएपछि आइतबार उक्त आह्वान रद्द गरेको सूचना निकालेको थियो ।


