राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज साेमबार उम्मेदवारी दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयाेगले जनाएकाे छ ।

मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेकाे थियाे ।

निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।

सत्ता गठबन्धनले १९ सिटका लागि कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २, जसपाले १ सिट लिने गरी बाँडफाँड गरेका छन् । निर्वाचित जनप्रतिनिधिले मतदान गर्ने हुँदा गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने संभावना छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने संवैधानिक प्रावधान छ ।

Facebook Comments