अन्तरिम सरकार सञ्चालनमा सेनाकाे हस्तक्षेप हुँदैनः युनुस

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसकाे आज शपथ ग्रहणकाे कार्यक्रम तय भएकाे छ । विहीबार नै युनुसले सल्लाहकार परिषद् पनि गठन गर्ने बताइएकाे छ ।

शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ । युनुसले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

सिएनएन सँगकाे कुराकानीमा युनुसले अब बन्ने अन्तरिम सरकार स्वतन्त्र र नागरिक सरकार हुने उल्लेख गर्नुभएकाे छ । सेनाले हस्तक्षेप गर्छ कि भन्ने प्रश्नमा सेनाले देखिने गरी वा नदेखिने गरी कुनै हस्तक्षेप नगर्ने सरकार निर्वाध र स्वतन्त्र रूपमा सञ्चालन हुने बताउनुभएकाे छ ।

विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बन्नुभएकाे हाे ।

उपचारको सिलसिलामा फ्रान्सको राजधानी पेरिस रहनुभएका युनुस दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार मात्र पुग्दै हुनुहुन्छ ।

युनुसले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशवासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गर्नुभएकाे थियाे ।

विज्ञप्तिमा बंगलादेशलाई हाल र भविष्यका नयाँ पिंढीका लागि एक अद्भुत देश बनाउनुपर्ने उल्लेख छ ।

Facebook Comments