बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया शुरू

सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।

मालपोत कार्यालय, डिल्लीबजारले बिहीबार च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको छ। मालपोतले २१ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने भन्दै पत्र काटेको हो।

टोखा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षको रोहवरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरका नाममा पत्र काटिएको हो।

बाँसबारी छाला जुत्ता कारखाना को १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी छाला जुत्ता कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो। त्यसबारे सिआइबीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। जसक्रममा उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।

काठमाडाैं जिल्ला अदालतकाे आदेशमा पक्राउ परेका ३ जना हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

Facebook Comments