मुग्लिन नारायणगढ सडकखण्डमा पहिराेः दुईवटा यात्रु सवार बस त्रिशूलीमा खसेकाे अनुमान

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको आशंका गरिएकाे छ ।

शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाएकाे आशंका गरिएकाे हाे । ती बसमा सवार पाँच दर्जनबढी यात्रुकाे अवस्था अज्ञात छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको अनुमान छ । जसमा २४ जना यात्रु सवार थिए ।

त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बेपत्ता छ । साे बसमा ४१ जना यात्रु रहेको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे ।

अहिले प्रमुख जिल्ला अधिकारी यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ ।

यतिबेला पहिराे पन्छाउने कार्य भइरहेकाे छ । पहिराेका कारण नारयणगढ मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरूद्ध भएकाे छ ।

Facebook Comments