जनयुद्धको जगमा जनआन्दोलन र संघीय गणतन्त्र स्थापनाः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा नेपालमा ०६२ ६३ सालकाे जनआन्दोलन सफल भएकाे बताउनुभएकाे छ ।
जनयुद्धकाे जगमा हाँसिल भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।
जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनुभएकाे हाे ।
जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै उनले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको प्रधानमन्त्रीले जारी गर्नुभएकाे सन्देशमा उल्लेख छ ।
‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएकाे छ, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’
जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दै उहाँले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण अपिल गर्नुभएकाे छ ।

