प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिनुहुने भएकाे छ । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक विश्वास मत लिनुपर्ने अवस्था बनेको हो ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । गतवर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसबीचमा तीन पटक गठबन्धन फेरबदल गरिसक्नुभएकाे छ ।

पहिलो पटक विश्वासको मत लिँदा प्रतिनिधिसभाको दुई तिहाईभन्दा पनि धेरै मत पाएपनि प्रधानमन्त्री प्रचण्डलाई यसपटक भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका केही दलले विश्वासकाे मत नदिने प्रष्ट छ ।

यसपटक उनलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ ।

Facebook Comments