पाल्पामा जीप दुर्घटना, १० जनाकाे मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना भएकाे छ । साे जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै सडकबाट ३ सय मिटर तल खसेकाे थियाे ।
डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको साे जिप दुर्घटनामा ७ महिला र ३ पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् ।
यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

