चुनावी सभामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी सभामा सम्बाेधन गरिरहेका बेला गोली प्रहार भएको छ । गोली लागे पनि ट्रम्प सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विविसीकाे समाचारमा प्रकाशित घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । ट्रम्पलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको हाे।
बीबीसीले ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेकाे र घटनामा परी अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको उल्लेख गरेकाे छ ।

करिब पाँच मिनेट बोलेपछि केही पड्किएको जस्तो आवाज सुनिएको थियो । जब गोली चल्न थाल्यो, भिडमा कोलाहल मच्चियो । ट्रम्पले काननजिकैबाट गाेली चलेकाे ठूलाे आवाज सुनिएकाे र गाेलीले छाला लछारेकाे बताउनुभएकाे छ ।

