तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।

दुर्घटनामा परी अरु ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरुलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका-५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रुपक गुरुङ र भरतपुर महानगरपालिका-२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Facebook Comments