तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ । उहाँले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । 

जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उहाँ जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हाे । प्रदेशसभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उहाँलाई विश्वासको मत दिने निणर्य गरिसकेका छन् ।

यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरेपनि गठबन्धन दहरूमा भने असन्तुष्टि तीव्र छ । उनले एक वर्षसम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ । त्यहीकारण देखाउँदै अन्य दलले समेत मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिङ गर्दै आएका छन् ।

मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९-९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।

यसआधारमा सत्तारुढ गठबन्धनको मत जोगाउन सके मुख्यमन्त्री यादवले यसपटक पनि विश्वासको मत प्राप्त गर्ने निश्चित छ ।

Facebook Comments