‘निजी क्षेत्रको योगदानबिना देशले समृद्धिको फड्को मार्न सक्दैन’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको योगदानबिना देशमा समृद्धिले फड्को मार्न नसक्ने बताउनुभएकाे छ ।

काठमाडौंमा शनिबार मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग बनाएर अगाडि लैजानुपर्ने बताउनुभयाे ।

‘सरकारले राज्यले संविधानमा परिभाषित गरेझैं निजी क्षेत्रलाई यसको अभिन्न अंग मान्छ र निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ । त्यसकारणले गर्दा अहिले निजी क्षेत्रलाई जोडेर मात्रै देशको विकास र समृद्धिमा फड्को मार्न सकिन्छ भन्ने कुरामा सरकार संविधानमा मात्र होइन, भाषणमा मात्र होइन भित्रदेखि प्रतिबद्ध छ,’ उहाँले भन्नुभयाे, ‘निजी क्षेत्रको योगदानबिना समृद्धिले फड्को मार्न सक्दैन ।’

गृहमन्त्री श्रेष्ठले मारवाडी समुदायले देशको अर्थतन्त्रसँगै समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयाे ।
कार्यक्रममा मारवाडी सेवा समितिमा विशिष्ट योगदान गर्ने समाजका ३ जना सदस्यलाई मरणोपरान्त, ५ जना जेष्ठ महिला सदस्य, ५ जना जेष्ठ पुरुष सदस्यलाई सम्मान पत्र र बाबुलाल राधादेवी टिबडेवाला मारवाडी सेवा समिति नेपाल छात्रवृत्ति अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने दाता संस्था टिबडेवाला धमार्थ ट्रष्टलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति एवं मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले स्थापनाको ७१ वर्षमा समितिले गरेका कामबारे जानकारी गराउनुभएकाे थियाे ।

Facebook Comments