सत्ता गठबन्धनले न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै

सत्ता गठबन्धनले न्यूनतम साझा संकल्प सार्वजनिक गर्दैछन् । सरकारमा सहभागी दलहरूका तर्फबाट गठित कार्यदलले तयार पारेकाे न्यूनतम साझा संकल्प आज सार्वजनिक गर्न लागिएकाे हाे ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए ।

Facebook Comments