४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास

२०८३ साल माघ १६ सम्म सक्नुपर्ने
कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गर्नुभयाे ।

संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताउनुभयाे ।

रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पु¥याउने विषयमा ध्यान दिनुपर्ने अधिकारीको भनाइ थियो । ‘खेतबारी बाँझो रहन दिनु हुँदैन । बजारबाट किनेको खान्न भन्ने हुनुपर्छ,’ उहाँले भन्नुभयाे, ‘बजारबाट खाली आउने गाडीलाई यहाँबाट भरेर पठाउनुपर्छ । पोखराबाटै सामान बोकेर आउने अवस्था भयो भने हामी र भोलिको पुस्ताका लागि अभिशाप हुन्छ ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयाे ।

काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उहाँकाे प्रतिबद्धता थियाे ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयाे ।

निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाउनुभयाे ।

शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा–१ का वडाध्यक्ष रामबहादुर गोदार, रूपा–७ का वडाध्यक्ष कृष्णराज सुवेदी, अन्य जनप्रतिनिधि, नेपाली कांग्रेस रूपा गाउँपालिका समिति सभापति विमल न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि माधव पौडेललगायत उपस्थित थिए ।

यो मोटर बाटो निर्माणको ठेक्का एम÷एस जी.एन.सी.पी.एल–बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सी.डी.ई सोभियत खड्काले जानकारी दिनुभयाे । रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ ।

Facebook Comments