बुटवलकाे डेल्टा कम्प्लेक्समा आगलागी, कराेडाैंकाे क्षति

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी हुँदा भवनका सबै सामान जलेर नष्ट भएकाे छ ।

विहीबार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ । मेटल र सिसाकाे स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट  आगलागी सुरु भएको बताइएकाे छ ।

अन्यत्र आगो नफैलिए पनि कम्प्लेक्स भने पूर्ण रुपमा ध्वस्त भएको छ। जसका कारण करिव ५० कराेडकाे क्षति भएकाे सञ्चालककाे अनुमान छ ।

साे कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्न मार्ट रहेका थिए ।

ती पसल र कम्पलेक्समा रहेका सामान सबै जलेर खरानी भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागी पछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी १३ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए।

तर पनि समयमा नै आगलागी नियन्त्रण हुन भने ८ घण्टा लाग्याे, त्यतिबेलासम्म ठूलाे क्षति भइसकेकाे छ । आगलागीकाे कारणा र क्षतिकाे विवरण संकलन गर्न लागिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments