रास्वपा सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
सांसद पद स्वतः निलम्बन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएसँगै लामिछानेकाे सांसद पद निलम्बन हुने भएकाे छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ।
आइतबार सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उक्त रकम गैरकानुनी तवरले आर्जन गरेको खुलाइएको हो।
गोरखा मिडिया नेटवर्कमा पूर्वगृहमन्त्री लामिछानेका साझेदार बनेको पूर्वडिआइजी छविलाल जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा परेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले ३१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको जानकारी दिनुभयाे । उहाँका अनुसार सहकारी ठगीमा ३१ जना, संगठित ठगीमा १९ जना र सम्पत्ति शुद्धीकरणको मुद्दा ४ जनालाई लगाइएको छ।
सम्पत्ति शुद्धीकरणमा रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनालाई मुद्दा दायर गरिएको हाे भने ८ कम्पनी र ५ जना व्यक्ति गरेर जफथ प्रयोजनार्थ मुद्दा लगाएको हाे ।
शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीबाट १ अर्ब ५१ करोड रुपैयाँ विगो माग गरिएको छ।

