त्रिवि उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त हुनुभएकाे छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । छनोट प्रक्रिया सुरु भएपछि समितिले ४२ जनामध्येबाट १४ जनाको ‘सर्टलिस्ट’ गरिएकाे थियो ।

त्यसबाट पनि आइतबार उत्कृष्ट तीनजनाको नाम छनाैट समितिले प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिस गरिएको थियो । तीनजनामध्येबाट दोस्रो नम्बर रहेका प्रा.डा. बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नुभएकाे हाे ।  

करिब ३७ वर्ष प्राध्यपन पेशाबाट अवकाश प्राप्त बराल त्रिवि र नेपाल खुला विश्वविद्यालयको सभा सदस्य हुनुहुन्छ भने विश्वविद्यालय अनुदान आयोगमा विज्ञ सदस्यका रूपमा कार्यरत हुनुहुन्छ ।

नवनियुक्त उपकुलपति बरालले त्रिविको शैक्षिक क्यालेण्डर लागू गर्ने, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई समयमै सञ्चालन गर्ने काम प्राथमिकतामा राख्ने बताउनुभएकाे छ ।

उपकुलपतिले चाहँदैमा त्रिविकाे सुधार हुन नसक्ने भन्दै सबैकाे समन्वयबाट मात्र त्रिवि सुधार्न सकिने बरालकाे धारणा छ ।

त्रिविमा भागबन्डा र दलका भ्रातृ संगठनको आतंक रहेकाे भन्दै प्राज्ञिक व्यक्तिहरूले सरकार, राजनीतिक दल लगायतलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

पाेखरा विश्वविद्यालयकाे सुधार र विस्तारमा बरालकाे याेगदान महत्वपूर्ण रहेकाे मानिन्छ ।

Facebook Comments