तनहुँमा बस दुर्घटनाः २७ जनाकाे मृत्यु

तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय पर्यटक बाेकेकाे बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे।

त्यसैगरी घटनामा १६ जना घाइते भएका छन् । घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएको हो।

दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेकाे थियाे । दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय नागरिक सवार थिए ।

Facebook Comments