सडक डिभिजनकाे ढाेकामा काठमाडाैं महानगरकाे धुलाे उपहार !

यसरी महानगरपालिकाको गरिमा बढ्दैन- सडक डिभिजन

सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ ।

‘काठमाडौंका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,’ सडक डिभिजनले विज्ञप्तिमार्फत् भनेको छ ।

डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी र महानगरपालिकाका मेयर बालेन्द्र साहबीच काठमाडौंका सडक सुधारका विषयमा छलफल भइ नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउनेमा सहमति भएपनि महानगरपालिकाले धुलो थुपारेकोप्रति डिभिजनले आपत्ति जनाएको हाे ।

सडक डिभिजन र काठमाडाैं महानगरवीच सडक निर्माण र मर्मत संभार एवं कार्यक्षेत्रका बिषयमा विवाद छ ।

मेयरले साहले चक्रपथ विस्तारमा ढिलासुस्ती भएको भन्दै शनिवार डिभिजन कार्यालयको ढोकामा एक ट्रक धुलो खसाल्दै हरेक दिन यस्तै उपहार पठाइदिने घोषणा गर्नुभएकाे थियाे ।

Facebook Comments