कास्की र लमजुङमा पहिराे, २ जनाकाे मृत्यु
देशका बिभिन्न स्थानमा भारी वर्षा परेकाे छ । भारी वर्षापछि गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीकाे भने सकुशल उद्धार गरिएकाे छ ।
त्यस्तै पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएकाे छ । हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार भने सकुशल छन् । पहिराेले सुनारकाे घरमा पूर्ण क्षति पुगेकाे छ ।
उता लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाएकाे हाे । पहिराेमा परी तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले जानकारी दिनुभयाे ।
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।
नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

