ड्रागन बोट रेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी पाेखरामा

पोखराको फेवातालमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ मा सहभागी हुने चिनियाँ खेलाडी सहित १२९ जनाको टोली पाेखरा आइपुगेकाे छ ।

चीनकाे सिचुवान एयरलाइन्सको विमान चीनको छेद्नुबाट चार्टर फ्लाइट मार्फत सिधै पोखरा आएको हो ।

विमान मार्फत पोखरा आएका खेलाडी तथा पाहुनाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, चीनका राजदूत चेन सोङ, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन राजपरिषद् द्धारा स्वागत गरिएको थियाे ।

मित्रराष्ट्र चीनमा लोकप्रिय ऐतिहासिक ड्रागन बोट रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सञ्चालन हुँदै आएको छ । यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १४ र १५ (डिसेम्बर २९–३०) गते पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहले सहभागिता जनाउने छन् ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments