नेतृत्वमा मेराे विकल्प छैन, माओवादी पार्टीहरु एक हुन पर्छः प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएकाे छ । साथै उहाँले माओवादी घटकहरू विगतका कमीकमजाेरीबाट पाठ सिक्दै एक हुनुपर्ने बताउनुभएकाे छ ।
पार्टी केन्द्रीय कार्यालयमा सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको बताउनुभएकाे हाे ।
अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाउने आश्वासन समेत दिनुभयाे ।
अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयाे । जनयुद्धका सहिदहरूप्रति अपमान हुनेखालका टिप्पणी हुँदा प्रतिवाद नगरेकामा पार्टी नेता तथा कार्यकर्ताप्रति प्रचण्डकाे गुनासाे थियाे ।
साथै उहाँले सरकारले गरेका राम्रा कामका बारेमा जनतासम्म प्रचार गर्न पार्टी नेता कार्यकर्तालाई आह्वान गर्नुभयाे । कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित हुने बताउनुभयाे ।
माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको उहाँकाे भनाइ छ ।

