सहकारी ठगी प्रकरणः आरोपित विरूद्ध डिफ्युजन नोटिस
मुलुकभर सहकारीहरूमा भएका ठगी प्रकरणमा अनुसन्धान गरिरहेकाे प्रहरीले केही सहकारीका आरोपित विरूद्ध डिफ्युजन नोटिस जारी गरेकाे छ ।
केही दिन अगाडि इमेज बचत तथा ऋण सहकारीका देवबहादुर नेपाली र पत्नी विरूद्ध इन्टरपाेलमा डिफ्युजन नोटिसकाे प्रक्रिया गरेकाे प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी गराएकाे हाे ।

सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले राईमाथि निगरानी तथा खोजि कार्यमा सहयाेग गर्ने छन्। आरोपितलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ।
ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ।

