आज तमु ल्होसार देशभर मनाइँदै

राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलकाे विश्वास

आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमा मनाउने चलन रहेको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् ।

तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।

सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल
गुरुङ समुदायको महान् चाड ‘ तमु ल्होसार’ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएकाे छ ।

सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै यस्तो बताउनुभएकाे हाे ।

सन्देशमा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै उनले नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

संस्कृतिमा हामी नेपाली धेरै धनि छौंः प्रधानमन्त्री
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना दिंदै संस्कृतिमा नेपाल धेरै धनी रहेकाे बताउनुभएकाे छ ।

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताउनुभएकाे छ ।

उहाँले सन्देशमा लेख्नुभएकाे छ, ‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ । संस्कृतिमा हामी नेपाली धेरै धनि छौं । सबैलाई तमु ल्होसारको शुभकामना !!’

Facebook Comments