ज्ञवाली नायब महान्यायाधिवक्ता, पोखरेल सर्वोच्चका रजिष्ट्रार नियुक्त
सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो ।
यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छे ।
मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले भन्नुभयाे, ‘नेपाल न्याय सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिष्ट्रार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।’
मन्त्री परिषद्ले वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

