राइड सेयरिङ विवादः अनिश्चितकालीन यातायात बन्द

राइड सेयरिङ नियमावली बनाएर लागू गर्न खाेजेकाे भन्दै गण्डकी प्रदेशबाट शुरू भएकाे यातायात व्यवसायीकाे आन्दाेलन देशव्यापी बनेकाे छ ।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।

सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा लगायत देशैभर सार्वजनिक सवारी ठप्प छन् । अप्रिय घटना हुन नदिन प्रहरीको बाक्लो उपस्थिति रहेको छ । एकाध सवारी साधन चलेपनि यात्रुहरूले भने सास्ती बेहाेर्नुपरेकाे छ ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई समेत यात्रु बाेक्न अधिकार दिएकाे भन्दै व्यवसायी विराेधमा उत्रिएका हुन् ।

भाडाका सवारी साधन सरह निजी सवारी साधनलाई प्रयोग गर्न दिन नहुने व्यवसायीहरूकाे भनाइ छ ।

आइतबार व्यवसायीहरूले वार्ता मार्फत् समस्या समाधान गर्नमा सरकार आलटाल गरेमा आजदेखि आन्दाेलन जाने बताएका थिए ।

Facebook Comments