गृहमन्त्रीकाे राजीनामाकाे मागमा विपक्षी दलहरूकाे अडान कायमै

विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामाकाे अडानमा कायमै रहेका छन् ।

विमानस्थल अध्यागमन कार्यालयमा दिनहुँ लाखाैं रूपैयाँ लेनदेन भएकाे भन्दै अख्तियारले छानविन शुरू गरेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग सहित संसद बैठकमा विपक्षी दलका सांसदहरूले विराेध गर्दै आएका छन् ।

संघीय संसदका दुवै सदनका आजका लागि तय भएका बैठक अवरुद्ध गर्ने विपक्षी दलहरूकाे तयारी छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

यसअघि साेमबार साँझ सत्ता पक्ष र विपक्षी दलका नेतावीच संसद सूचारू गर्नेबारे छलफल भएपनि सहमति जुटेकाे थिएन ।

 प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुकाे छ ।

साझा अवधारणा बनाउन विपक्षी दलहरूकाे बैठक बस्दैछ ।

Facebook Comments