कक्षा १२ को परीक्षा शुरू, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने

 कक्षा १२ को परीक्षा ८ बजेबाट शुरू भएकाे छ । परीक्षाकाे सम्पूर्ण तयारी पूरा भएपछि ८ः०० बजेबाट परीक्षा शुरू भएकाे हाे ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका ५१० परीक्षा केन्द्रबाट एकैसाथ सुरु भएकाे जानकारी दिएकाे छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएकाे छ ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
    
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत शिक्षक, कर्मचारी, निरीक्षक, परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

Facebook Comments