रास्वपा सभापति रवि लामिछाने पुनः थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः प्रहरीले पुर्पक्षका लागि थुनामा राखेकाे छ ।
रूपन्देहीकाे सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध मुद्दामा लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउन आदेश गरेको थियो । साेही आदेश बमाेजिम शुक्रबार बेलुका नै प्रहरीले लामिछानेलाई बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेकाे थियाे ।
राति जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएकोमा शनिबार बिहान लामिछानेलाई जहाजमार्फत भैरहवा पठाइएको हाे ।
लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय पुर्याइनेछ। त्यसपछि बाँकी प्रक्रिया पूरा गरी थुनामा पठाइने प्रहरीले जनाएकाे छ ।
लामिछानेले जिल्ला अदालत रूपन्देहीले यसअघि एक करोड धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा दिनुभएकाे पुनरावेदनमा अदालतले थुनामै राखेर अनुसन्धानका लागि आदेश गरेकाे हाे ।

