सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् ।
जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक सम्बन्धि आदेश जारी गर्न सक्ने अपेक्षा गरिएको छ ।
बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने अदालत स्राेतले जनाएकाे छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने बताइएको छ ।
बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका थिए । पीडितहरूले न्याय पाउनका लागि सबैलाई पूर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ ।
त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका थिए ।
प्रतिवादीहरू धेरै भएपनि अधिकांश भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेकाे बारेमा चासाे राखिरहेका छन् ।

