रास्वपाले फागुन २१काे चुनावपछि मात्र महाधिवेशन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनपछि मात्र महधिवेशन गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै घाेषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग सहकार्य लगायतका निर्णय बैठकले गरेकाे छ ।
बैठकपछि प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा देशमा वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरुसँग संवाद, सहमति र सहकार्यमा जोड दिनुपर्ने बैठककाे ठहर रहेकाे उल्लेख छ ।
पार्टीकाे महाधिवेशन यसअघि यस पार्टीले फागुन ७, ८ र ९ गतेका लागि तय गरिए पनि फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तय भएका कारण महाधिवेशन सार्न प्रस्ताव गरिएकाे हाे ।
रास्वपाले प्राइमरी इलेक्सनका साथै विभिन्न मापदण्ड आधारमा उम्मेदवार चयन गर्ने भएकाे छ । साेका लागि पार्टीले अडिट कमिटी बनाउने समेत विस्तारित बैठककाे निर्णयमा उल्लेख छ ।
जेन–जी आन्दोलनकाक्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरुको सहभागिता सुनिश्चित गर्न पनि रास्वपाले माग गरेको छ।


