सत्ता गठबन्धनकाे बैठकः संवाद बढाउने निर्णय

सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र एमालेका नेताहरूकाे बैठक बसेकाे छ । उच्च स्तरीय राजनीतिक संयन्त्रकाे बैठक भनिए पनि कांग्रेस र एमालेका नेताहरूमात्र बैठकमा सहभागी थिए ।

असन्तुष्टि व्यक्त गर्ने कांग्रेस महामन्त्री गगन थापा र उपसभापति पूर्णबहादुर खड्का बैठकमा सहभागी नभएपछि बैठक थप फिक्का भनेकाे टिप्पणी पनि भएकाे छ ।

तथापि सार्वजनिक रूपमा असन्टुष्टी व्यक्त गर्ने भन्दा पनि यस बीचमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट निप्टारा लगाउने समझदारी गरिएकाे बैठक पछि नेताहरूले बताएका छन् ।

सत्तारुढ दलभित्रैबाट नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरेकाे बारे छलफल भएकाे थियाे ।

सरकारले गरेका राम्रा काम बारे छलफल भएकाे र ०८४ को चुनाव नहुँदासम्म गठबन्धन कायम राख्नेमा नेताहरू दृढ देखिएकाे ती नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रका नेताहरुसँग पार्टी उच्च तहले गरेको समझदारीकै स्पिरिटमा आम जनतासमक्ष विचार लैजानुपर्ने बताउनुभयाे । केही नियुक्तिहरुलाई, अनि बढुवाहरुलाई लिएर अनावश्यक प्रचार भएको भन्दै प्रधानमन्त्री सत्तारुढ नेताहरुसँग असन्तुष्ट रहेकाे बताइएकाे छ ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले सरकारको धिमा तथा सुस्त शैलीको आलोचना गरिरहेका छन् ।

बैठकमा एमालेबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, अनि कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा थिए ।

बैठकपछि नेताहरूले गठबन्धनमा कुनै समस्या नरहेकाे प्रतिक्रिया दिएका छन् ।

Facebook Comments