राष्ट्रिय हेम्जा आलु महोत्सव सम्पन्न
पोखरामा आयोजित राष्ट्रिय हेम्जा आलु महोत्सव सकिएकाे छ । महाेत्सवमा ४१ लाख रुपैयाँ बराबरको आलु बिक्री भएकाे आयोजक विष्णुपादुका युवा क्लबले जानकारी दिएकाे छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा ११ दिनसम्म चलेको महोत्सवमा ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियाे ।
महोत्सवमा आलुबाहेक अन्य तरकारीको खरिदबिक्री, आलुका परिकार बिक्री, माटो तथा बोटविरुवा परीक्षण, कृषि यन्त्र प्रदर्शनी तथा रोगको निदानबारे जानकारी र कृषक तथा कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम भएका थिए ।
महोत्सवमा कृषितर्फ ३० र १ सय २० वटा व्यापारिक स्टल थिए । महोत्सवकै अवसरमा हल गोरू पाल्ने स्थानीय कृषक विजय रानामगर, हरिकुमार परियार र गंगाबहादुर कार्कीलाई १०/१० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।
बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको उल्लेख गर्नुभयाे ।
पोखरा महानगरले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लोपटक हेमजा कृषि पर्यटनको हव बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयाे ।
उहाँले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमान्का लागि मेला महोत्सव गर्दै जानुपर्ने उल्लेख गर्नुभयाे ।
हेम्जामा उत्पादित आलु पाेखरा क्षेत्रमा लाेकप्रिय छ ।

