स्ववियु निर्वाचन आज, कतिपय क्याम्पसमा तालावन्दी
त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पशहरूमा आज चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
कतिपय क्याम्पशमा विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा निर्वाचन हुने नहुने अन्याैल छ । धेरै क्याम्पसहरूमा निर्वाचन हुँदैछ । क्याम्पसहरुमा मतदानका लागि भौतिक संरचनाहरुको निर्माण भइरहेको छ ।
कतिपय क्याम्पशहरूमा सत्तारूढ कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, प्रतिपक्षी माओवादी निकट अखिल क्रान्तिकारीलगायत संगठनको तालाबन्दी गरेका छन् जसले गर्दा निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
राजधानीका अमृत साइन्स क्याम्पशमा निर्वाचन स्थगित गरिएकाे छ भने रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार मध्यराति अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
अधिकांश क्याम्पसमा सत्तापक्षका विद्यार्थी संगठनहरुबीच सहकार्य भएको छ भने विपक्षी दल निकट संगठनहरु एक भएर चुनावी मैदानमा छन् ।
विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।
त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ ।

