पाेखरा सडक महाेत्सवकाे तयारी तीव्र

पर्यटकीय नगरी पाेखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा यसपालि गर्न लागिएकाे पाेखरा सडक महाेत्सवकाे तयारी तीव्रताका साथ भइरहेकाे छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)ले पाेखराकाे लेकसाइडमा आगामी १३ देखि १७ पुससम्म २७ औं संस्करणकाे पाेखरा सडक महाेत्सव गर्दैछ ।

आयाेजकले यसअघि पत्रकार सम्मेलन गरी महाेत्सवबारे जानकारी दिएकाे थियाे भने देशका विभिन्न सहरहरूमा पुगेर महाेत्सवमा सहभागिताका लागि निम्ताे दिएकाे छ ।

रेवान अध्यक्ष विश्वराज पाैडेलका अनुसार पाेखराकाे ब्रान्डकै रूपमा स्थापित पाेखरा सडक महाेत्सवकाे तयारी तीव्रताका साथ भइरहेकाे छ । विभिन्न उपसमितिहरूले तीव्रताका साथ काम गरिरहेकाे उहाँकाे भनाइ छ ।

फेवाताल किनारमा साढे ३ किमी सडकका यातायात आवागमन राेकेर संचालन हुने पाँचदिने महाेत्सवकाे मूल उद्देश्य आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन रहेकाे छ ।

सडकमै खाऔं, सडकमै नाचाैं, सडकमै रमाऔं भन्ने नाराका साथ हुने महाेत्सवमा विभिन्न खानाका परिकार, लाइभ कन्सर्ट, लाेपाेन्मुख झाँकी, माैलिक भेषभूषा, परम्परागत नृत्य, खेलकुद गतिविधि, टक शाे, पाेखराकाे साैन्दर्य झल्काउने वृत्तचित्र प्रदर्शनी, फाेटाे प्रदर्शनी लगायत मुख्य आकर्षण रहेकाे महाेत्सव संयाेजक वसन्त गाैतमले जानकारी दिनुभयाे ।

Facebook Comments