पुम्दीकाेटमा महायज्ञः भक्तजनहरुकाे सहभागिता बढ्दै
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै आयोजना गरिएको ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुको संख्या बढेकाे छ ।

पोखरा २२ पुम्फिकोटमा जारी पुम्दीकोट कोट विकास समितिद्वारा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमाको पाँचौ दिन पनि श्रद्धालु भक्तजनहरुको उत्साहपुर्ण उपस्थितित देखिएको हो।
भागवत मञ्जरी राधिका दासीको मधुर वाणी श्रीमद् भागवत वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयाे । फागुन ७ गतेदेखि सुरु भएको महायज्ञ १५ गतेसम्म चल्नेछ ।
पुम्दिकोटकोट विकास समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समितिका सचिव निर्मलराज बराल र सहसचिव दुर्गाबहादुर गुरुङले गर्नुभएकाे थियाे ।
आज मात्रै २० हजार श्रद्धालु भक्तजनहरुले पुम्दिकोटको दर्शन गरेको अध्यक्ष बरालले जानकारी दिनुभयाे । कार्यक्रममा स्व स्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहहरूले भक्तजनहरूको व्यवस्थापन प्रसाद वितरण लगायत अन्य कार्यहरूमा सहयोग पुर्याउँदै आएका छन् ।
हरेक साँझ हुने महाआरती कार्यक्रममा भक्तजनहरूको उल्लेख्य भिड लाग्ने गरेको छ । महायज्ञको प्रत्यक्ष प्रसारण विभिन्न धार्मिक च्यानलहरू, युटुब , सामाजिक सञ्जाल र हल्लन्चोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ ।
पोखरा देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समितिका सल्लाहकार मातृका बरालले जानकारी दिनुभयाे । पोखरा १७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दीकोटसम्म बिहान ९ बजेदेखि यातायात व्यवस्थापन गरिएकाे छ ।
पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै पोखरामा आयोजना भएको पहिलो कार्यक्रम रहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारहरू मार्फत धार्मिक नाटक झाँकी प्रदर्शन लगायत दानदाता सम्मान कार्यक्रम हुँदै आइरहेको छ।
धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् ।

