विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरोध
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ।
त्यस्तै, सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिका–२ स्थित घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । रसुवामा उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड, पासाङल्हामु सडकखण्ड, धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
कालीकोटमा शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बेनीघाट रोराङ–१० को ज्वालाखोला र शीतलबजार क्षेत्रमा भने सडक एकतर्फी सञ्चालनमा छ । चितवनको ज्वालाखोला क्षेत्रमा पनि सडक मर्मतका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
नुवाकोटमा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।


