प्रतिनिधिसभा बैठकः चालु आ.व.काे आर्थिक सर्वेक्षण पेस हुने

विपक्षीहरूले भने गृहमन्त्रीकाे राजीनामा माग्दै

संघीय संसद अन्तगर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आजको बिहान ११ः०० बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने संसद सचिवालयले जनाएकाे छ ।

सचिवालयले ५ वटा संभावित कार्यसूची सार्वजनिक गरेकाे छ । जसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची समावेश छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नुहुनेछ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयाे । 

प्रतिपक्षी दलहरुले भने आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान भइरहेकोले मन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडान छ । 

Facebook Comments