तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट
स्वर्गिय स्वर किन्नरी द्वय तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । कालजयी स्वरकी धनी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाप्रति समर्पित तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका हुन् ।
पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जद्वारा संयुक्त रुपमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हार्मोनीमा आबद्द कलाकारहरुले तारादेवी–अरुणा लामाका एक दर्जन कालजयी गीतहरु उनीहरु प्रति नै समर्पित गरेर गुञ्जाउँदै ट्रिब्यूट दिए ।
पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजित श्रष्टा स्मृति साँझमा हार्मोनीका कलाकारहरुले सामुहिक बन्दना र त्यसलगत्तै लगातार तारादेवी र अरुणा लामाका कालजयी गीतहरु ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरुमा’, ‘पोहोर साल’, ‘एक फूल झरेर के भो ? ’, ‘ए कान्छा ठट्टैमा’, ‘हेर न हेर कान्छा’, ‘फूललाई सोंधे’ गुञ्जाउँदै स्वर किन्नरी द्वयलाई श्रद्दाञ्जली अर्पण गर्दै गुञ्जाएपछि कार्यक्रम शुरु भएको थियो ।
त्यसपछि पालैपालो स्टेजमा उक्लिएका गायीकाहरु ईतु जोजिजु, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले सांगीतिक प्रस्तुती दिए । जहाँ उनीहरुले तारादेवी र अरुणा लामाका एकपछि अर्को गर्दै गीतहरु गुञ्जाउँदा दर्शक नोस्टाल्जिक बने भने आफ्नै गीत सुनाउँदा दर्शक आल्हादित बने ।
कार्यक्रममा अरुणा लामाको ‘मैले जीवनलाई कसरी सजाएँ’ र ‘आफ्नो र त्यो कहिले घाम, कहिले छायाँ’, तारादेवीका ‘टाढाबाट बोलाएको’ र ‘जति माया लाएपनि’, ‘जताततै खोजें’ र आफ्नो ‘जून राम्रो जुनेली रातको’, अरुणा लामाको ‘भेटिनु छुटिनु’ र आफ्नो ‘को छ र मेरो’, ‘उदास मेरो जीवन कथा’ र आफ्नो ‘हिमालकी प्यारी छोरी’, ‘हाँसी राखें, बोली राखें’ र आफ्नो ‘परिभाषा हराएको’ तथा बबी तारादेवीको ‘जबजब मेरा सपनाहरु’ गीत भ्वाईलिनको साथमा गुञ्जाइएकाे थियाे ।

