राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जानुहुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार पाैडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएकाे हाे ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापानतर्फ प्रस्थान गर्नुहुनेछ ।

राष्ट्रपति पाैडेल भ्रमण सम्पन्न गरी यही माघ २१ गते दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ ।

उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसै गरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनाका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।

Facebook Comments