पाकिस्तानकाे बलुचिस्तान प्रान्तमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भिडन्त, १३३ जनाकाे मृत्यु भएकाे दावी
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भिषण भिडन्त भएकाे छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पाकिस्तानी सरकारी स्राेत उदृत गर्दै साे भिडन्तमा कम्तिमा १३३ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।
पाकिस्तानी सेनाले शनिबार विज्ञप्ती जारी गर्दै बलुचिस्तानमा सुरक्षा कारबाही क्रममा कम्तिमा ९२ जना लडाकू मारिएको जनाएको थियाे । साे क्रममा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ।
इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानमा दशकौंदेखि पृथकतावादी विद्रोह जारी छ । पाकिस्तान सरकारले भने पृथकतावादी समूहले गरेकाे याे आक्रमणमा भारतकाे हात रहेकाे जिकीर गरेकाे छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्डियनका अनुसार भारतीय पक्षले भने तत्काल कुनै प्रतिक्रिया दिएकाे छैन ।
शनिबारका आक्रमणको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा आइएसपीआरले भने आक्रमण भारत प्रायोजित लडाकुबाट गरिएको दाबी गर्दै कुनै पनि सहर वा रणनीतिक स्थल नियन्त्रणमा लिन खोजिएको प्रयास असफल पारिएको जनाएको छ।


