राष्ट्रपति रामचन्द्र पौडेल जापानमा

नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुग्नुभएकाे छ ।

आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पाैडेल नेतृत्वकाे प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे हाे ।

विमानस्थलमा उहाँलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरेका थिए । 

जापान सरकारको निमन्त्रणामा भ्रमणका लागि जानुभएकाे राष्ट्रपतिले माघ १९ गते सोमबार नै जापान सरकारले आयोजना गर्ने कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा भाग लिने कार्यक्रम छ। यो भ्रमणले दुई देशबीचको दशकौँ पुरानो मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता हुने राष्ट्रपतिको यो भ्रमण राजनीतिक र कूटनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ। माघ २० गते मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितोबिच राजकीय शिष्टाचार भेट हुने तालिका छ। 

सोही दिन उनले जापानकी प्रधानमन्त्री ताकाइची सानाएसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसबाहेक विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ भने साेही दिन नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा पनि सहभागी हुने तालिका छ ।

सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध गाँसेका नेपाल र जापानले क्रमशः सन् १९६५ र १९६७ मा एकअर्काको राजधानीमा दूतावास स्थापना गरेका थिए । राष्ट्रपति पौडेल आफ्नो चारदिने भ्रमण पूरा गरी आगामी माघ २१ गते बुधबार स्वदेश फर्कनुहुनेछ।

Facebook Comments