प्रतिनिधिसभा निर्वाचनकाे तयारी तीव्र, २५ जिल्लाका लागि ३० लाख मतपत्र छापियाे
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाएकाे छ । प्रत्यक्षतर्फ हालसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छपाइ भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।
त्यसैगरी मतदाता शिक्षा प्रयोजनका आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ । आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा ती सामग्री राखिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ । त्यस्तै निर्वाचनकाे तयारीबारे आयोगले प्रेस ब्रिफिङ पनि गरिरहेकाे छ ।
सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगले जनाएकाे छ ।

